एनआरएन नागरिकता र नेपाली पहिचानको विषयमा अमेरिका स्थित मधेशी समुदायको चासो

Published on September 27, 2026 | Category: news

एनआरएन नागरिकता र नेपाली पहिचानको विषयमा अमेरिका स्थित मधेशी समुदायको चासो

न्युयोर्क, ११ असोज । अमेरिका स्थित मधेशी समुदायको प्रतिनिधिमूलक संस्था मधेशी एसोसिएशन इन अमेरिका (MAA) ले गैरआवासीय नेपाली (NRN) नागरिकता तथा विदेशमा बसोबास गर्ने अंगीकृत नागरिकहरूको अधिकार सम्बन्धी विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

शनिबार न्युयोर्कमा आयोजित एक भेटघाट कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय शिशिर खनाललाई नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा पीडितहरूको सहयोगार्थ राहत रकमको चेक हस्तान्तरण गर्दै MAA का अध्यक्ष मनोज सिंहले एनआरएन नागरिकता सम्बन्धी विभिन्न जिज्ञासा तथा सरोकारहरू प्रस्तुत गरेका हुन् ।

अध्यक्ष सिंहले विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरू तथा अंगीकृत नागरिकहरूको नागरिकता, पहिचान र अधिकार संरक्षणका विषयमा स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको उल्लेख गरे। उनले नेपाली पहिचान र सम्बन्धलाई निरन्तर सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याउँदै “एक पटक नेपाली, सधैं नेपाली” भन्ने मान्यतालाई राज्यले व्यवहारिक रूपमा पनि सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे ।