समुदाय सशक्तीकरण, संवैधानिक अधिकार र सामाजिक सद्भावप्रति प्रतिबद्धता जनाउँदै MAA को AGM २०२६ सम्पन्न

Published on September 04, 2026 | Category: news

समुदाय सशक्तीकरण, संवैधानिक अधिकार र सामाजिक सद्भावप्रति प्रतिबद्धता जनाउँदै MAA को AGM २०२६ सम्पन्न

न्यूयोर्क, अमेरिका — मधेशी एसोसिएसन इन अमेरिका (MAA) को वार्षिक साधारण सभा (Annual General Meeting—AGM) २०२६ अगस्ट २९ र ३० तारिख भर्चुअल माध्यमबाट सफलतापूर्वक सम्पन्न भएको छ। दुईदिने कार्यक्रममा नेपालका सांसद, नीतिनिर्माता, समुदायका अगुवा, विज्ञ, युवा प्रतिनिधि, प्रवासी नेतृत्व तथा अमेरिका रविश्वका विभिन्न स्थानबाट मधेशी समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

AGM मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका माननीय सांसद डा. अमरेश कुमार सिंह तथा नेपाल सरकारका मधेशी आयोगका कार्यवाहक अध्यक्ष श्री जीवछ साहबाट प्रमुख सम्बोधन तथा मन्तव्य प्रस्तुत भएको थियो। कार्यक्रममा उच्चस्तरीय प्यानल छलफल, संस्थागत समीक्षा, सदस्य संवाद तथा विशेष सत्रहरू आयोजना गरिएका थिए। दुईदिने कार्यक्रमका क्रममा संवैधानिक अधिकार, समुदाय सशक्तीकरण, सांस्कृतिक पहिचान तथा संरक्षण, युवा सहभागिता, नेतृत्व विकास, नागरिक सहभागिता, प्रवासी मधेशी समुदायसँगको सम्बन्ध, सामाजिक सद्भाव तथा मधेशी समुदायको समग्र उन्नति लगायतका विषयमा विस्तृत छलफल भएको थियो।

दुईदिने कार्यक्रमका क्रममा संवैधानिक अधिकार, समुदाय सशक्तीकरण, सांस्कृतिक पहिचान तथा संरक्षण, युवा सहभागिता, नेतृत्व विकास, नागरिक सहभागिता, प्रवासी मधेशी समुदायसँगको सम्बन्ध, सामाजिक सद्भाव तथा मधेशी समुदायको समग्र उन्नति लगायतका विषयमा विस्तृत छलफल भएको थियो।

यसैबीच, नेपालमा हालै आएको विनाशकारी बाढी तथा त्यसबाट भएको जनधनको क्षतिप्रति AGM ले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरेको थियो। साथै, राहत, उद्धार, पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि मानवीय सहयोग जुटाउन विश्वभरका मधेशी तथा नेपाली प्रवासी समुदायलाई आह्वान गरिएको थियो।

उद्घाटन समारोह:
अगस्ट २९, शनिबार बिहान आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि तथा मुख्य वक्ताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका माननीय सांसद डा. अमरेश कुमार सिंह सहभागी हुनुभएको थियो।

कार्यक्रमको अध्यक्षता MAA का अध्यक्ष श्री मनोज सिंहले गर्नुभएको थियो भने MAA का प्रवक्ता श्री प्रमोद गुप्ता र महिला संयोजक श्रीमती रिना पण्डितले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रमको सुरुवात MAA अध्यक्ष श्री मनोज सिंहद्वारा दीप प्रज्वलनबाट भएको थियो। त्यसपछि नेपाल र अमेरिका राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिका रूपमा न्यूयोर्कमा बसोबास गर्ने नौ वर्षीया एन्जेला साहले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन्।

नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा तथा प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहभागीहरूले एक मिनेट मौनधारण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय सांसद डा. अमरेश कुमार सिंहले सामाजिक न्याय, आर्थिक विकास, नागरिक सहभागिता तथा समुदाय सशक्तीकरणमा विश्वभरका मधेशी प्रवासी समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। मधेशी समुदायको अधिकार, सम्मान, समानता तथा उत्थानका लागि लामो समयदेखि गर्दै आउनुभएको निरन्तर पैरवीलाई स्मरण गर्दै डा. सिंहले राजनीतिक दलभित्र, सरकारका विभिन्न तह तथा निर्वाचित जनप्रतिनिधिका रूपमा समेत मधेशी समुदायका सवालहरू निरन्तर उठाउँदै आएको बताउनुभयो।

उहाँले आफ्नो राजनीतिक वा सार्वजनिक पद तथा जिम्मेवारीभन्दा माथि उठेर मधेशी समुदायका अधिकार र न्यायका सवालमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो। अन्याय, असमानता, संस्थागत विभेद तथा बहिष्करणविरुद्ध स्पष्ट रूपमा बोल्दै आएको बताउँदै डा. सिंहले समान अधिकार, सम्मान र न्यायको पक्षमा निरन्तर पैरवी गर्नु नै आफ्नो मूल प्रतिबद्धता रहेको स्पष्ट पार्नुभयो।

डा. सिंहले मधेशको समृद्धि र विकास नेपालको समग्र प्रगति तथा दीर्घकालीन राष्ट्रिय विकाससँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्नुभयो। मधेशको ठूलो जनसंख्या, आर्थिक सम्भावना, सांस्कृतिक विविधता, भौगोलिक महत्व तथा नेपालको सामाजिक–आर्थिक जीवनमा रहेको योगदानलाई ध्यानमा राख्दै मधेशमा समानुपातिक विकास, पर्याप्त लगानी तथा अवसर सुनिश्चित गर्नु नेपालले समावेशी र दिगो राष्ट्रिय विकास हासिल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।

उहाँले नेपाल र विश्वभर रहेका प्रवासी नेपाली तथा मधेशी समुदायबीचको सम्बन्ध अझ सुदृढ गर्नुपर्नेमा जोड दिँदै समावेशी, समृद्ध र सशक्त मधेशी समुदाय निर्माणका लागि सामूहिक सहभागिता आवश्यक रहेको बताउनुभयो। साथै, नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा विश्वभरका मधेशी तथा नेपाली प्रवासी समुदाय एकजुट भएर सहयोग गर्न उहाँले आह्वान गर्नुभयो।

उद्घाटन समारोहमा विभिन्न समुदाय तथा प्रवासी संस्थाका प्रतिनिधि एवं MAA का नेतृत्वबाट शुभकामना मन्तव्यसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा MAA का सल्लाहकार समिति अध्यक्ष श्री अमित शाह, बेलायतका सामाजिक अभियन्ता डा. सुनील साह, एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाका अध्यक्ष श्री सुजित कुमार सिंह, मधेसी एकता समाज दुबईका अध्यक्ष डा. रविन्द्र कुमार यादव, थारुज एन्ड फ्रेन्ड्स एसोसिएसन इन अमेरिकाका अध्यक्ष तथा MAA का BOT सदस्य श्री सुरेन्द्र चौधरी, MAA का निवर्तमान अध्यक्ष डा. संगीत रौनियार, MAA का संस्थापक अध्यक्ष तथा NRNA-ICC का पूर्व उपाध्यक्ष श्री सुनील साह, तथा MAA Board of Trustees का अध्यक्ष डा. बिप्लव यादव लगायतले मन्तव्य दिनुभएको थियो।

आफ्नो अध्यक्षीय सम्बोधनमा MAA अध्यक्ष श्री मनोज सिंहले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रा, उपलब्धि तथा गतिविधिको समीक्षा गर्दै आगामी दिनमा संस्थागत विकास, सदस्य सहभागिता, संगठन विस्तार तथा समुदायमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो।

नेपालको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै अध्यक्ष सिंहले प्रभावित समुदायप्रति MAA को ऐक्यबद्धता व्यक्त गर्नुभयो। उहाँले राहत तथा मानवीय सहयोगलाई प्राथमिकता दिँदै MAA र यसका च्याप्टरहरूको सहभागितामा राहत सहयोग संकलन अभियान सञ्चालन गरिने र संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने जानकारी दिनुभयो।

संस्थागत समीक्षा तथा रणनीतिक मार्गचित्र:

AGM को दोस्रो सत्रका रूपमा, अगस्ट २९ गते शनिबार साँझ MAA ले बन्द सत्र तथा सदस्य संवाद आयोजना गरेको थियो। कार्यक्रममा Board of Trustees, Advisory Committee, Central Executive Committee, Life Members तथा अमेरिकाका विभिन्न च्याप्टरका अध्यक्ष एवं प्रतिनिधिहरू सहभागी थिए।

बन्द सत्रमा संस्थाको विगतका उपलब्धि, वर्तमान संस्थागत अवस्था, चुनौती तथा आगामी रणनीतिक मार्गचित्रबारे खुला समीक्षा गरिएको थियो। सहभागीहरूले संस्थाका गतिविधि तथा वित्तीय अवस्थाबारे जानकारी लिँदै च्याप्टर विकास, संस्थागत सुदृढीकरण, सदस्य सहभागिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय र आगामी सामुदायिक कार्यक्रमका प्राथमिकताबारे छलफल गरेका थिए।

खुला सदस्य संवादले च्याप्टर प्रतिनिधि तथा सदस्यहरूलाई आफ्ना अनुभव, सुझाव, प्रतिक्रिया तथा संस्थाको संरचना र प्रभाव विस्तारसम्बन्धी प्रस्ताव राख्ने अवसर प्रदान गरेको थियो।

यस सत्रको महत्वपूर्ण उपलब्धिका रूपमा संस्थाको अध्यक्ष श्री मनोज सिंहले आगामी ५औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गर्नुभएको थियो।

संवैधानिक अधिकार तथा मधेशी समुदायको उत्थानसम्बन्धी उच्चस्तरीय प्यानल छलफल:

AGM को दोस्रो दिन, अगस्ट ३० गते आइतबार बिहान, “संवैधानिक अधिकार र मधेशी समुदायको उत्थान” विषयमा उच्चस्तरीय प्यानल छलफल आयोजना गरिएको थियो। छलफलमा संवैधानिक अधिकार, समावेशी प्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, आर्थिक अवसर, प्रवासी मधेशी समुदायको भूमिका, सामाजिक सद्भाव तथा मधेशी समुदायको सामाजिक–आर्थिक सशक्तीकरणलगायतका विषयमा विस्तृत बहस भएको थियो।

सत्रमा नेपाल सरकारको मधेशी आयोगका कार्यवाहक अध्यक्ष श्री जीवछ साह प्रमुख अतिथि तथा मुख्य वक्ताका रूपमा सहभागी हुनुभएको थियो। नेपालकी पूर्व सांसद श्रीमती रेखा यादव विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने सामाजिक अभियन्ता श्रीमती सलमा खातुन तथा युवा नेतृत्वहरू श्री एस.पी. शाह, श्री अरविन्द कुमार सिंह, श्री अनिल महासेठ र श्री गणेश मण्डलले प्यानलिस्ट वक्ताका रूपमा छलफलमा सहभागिता जनाउनुभएको थियो।

प्यानलमा संवैधानिक प्रत्याभूति, समावेशी प्रतिनिधित्व, नागरिक सहभागिता, नीतिगत पैरवी, सामाजिक न्याय, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच, आर्थिक अवसर तथा मधेशी समुदायको सामाजिक, आर्थिक र राजनीतिक उन्नतिका विषयमा छलफल गरिएको थियो

MAA नेतृत्व तथा प्यानलिस्टहरूले मधेशको शिक्षा तथा स्वास्थ्य प्रणालीमा देखिएका चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय सार्वजनिक सेवा, सरकारी लगानी, संस्थागत जवाफदेहिता तथा परिणाममुखी विकास कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका थिए। मधेशको शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, आर्थिक अवसर तथा समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राखेर नेपाल सरकारले स्पष्ट र कार्यान्वयनयोग्य मधेश विकासको दीर्घकालीन मार्गचित्र बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

छलफलमा नेपालको विकासमा प्रवासी मधेशी समुदायको भूमिकासमेत महत्वपूर्ण विषयका रूपमा उठाइएको थियो। विश्वभर रहेका मधेशी प्रवासीहरूको संवैधानिक तथा कानुनी अधिकार सुनिश्चित गर्दै उनीहरूलाई नेपालमा लगानी, ज्ञान हस्तान्तरण, उद्यमशीलता, परोपकार तथा दीर्घकालीन विकास साझेदारीमा सहभागी गराउन सरकारले स्पष्ट नीति तथा संरचना निर्माण गर्नुपर्नेमा MAA नेतृत्वले जोड दिएको थियो। विशेषगरी मधेशको आर्थिक तथा सामाजिक विकासमा प्रवासी समुदायको पूँजी, सीप, ज्ञान र अनुभव परिचालन गर्न विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताइएको थियो।

छलफलको अर्को महत्वपूर्ण विषय जातीय, धार्मिक, भाषिक तथा सांस्कृतिक विविधताबीच मधेशी समुदायको साझा पहिचान र एकता संरक्षण थियो। MAA का सदस्यहरू, विशेषगरी थारु तथा मुस्लिम समुदायसँग सम्बन्धित प्रतिनिधिहरू, ले मधेशभित्रको ऐतिहासिक सामाजिक विविधतालाई विभाजनको आधार बनाउने राजनीतिक तथा सामाजिक प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका थिए। मधेशी–थारु तथा हिन्दु–मुस्लिम समुदायबीच अनावश्यक तनाव र विभाजन सिर्जना गर्ने प्रवृत्तिले समग्र मधेशको सामाजिक एकता र साझा हितमा असर पार्न सक्ने विषयमा सहभागीहरूले गम्भीर चिन्ता व्यक्त गरेका थिए।

मधेशमा पछिल्ला दिनमा सामुदायिक तनावसँग सम्बन्धित हिंसात्मक घटनाहरू तथा त्यसबाट भएको जनधनको क्षतिलाई सहभागीहरूले गम्भीर चिन्ताको विषयका रूपमा उठाएका थिए। यस्ता घटनाले सामाजिक सद्भाव, आपसी विश्वास तथा सहअस्तित्वलाई कमजोर पार्न सक्ने भन्दै सहभागीहरूले समयमै संवाद, संयम, कानुनी शासन तथा जिम्मेवार राजनीतिक र सामाजिक नेतृत्वमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

मधेशको मधेशी, थारु, मुस्लिम, हिन्दु तथा अन्य विविध समुदायहरू नै मधेशको सामाजिक शक्ति र पहिचानका अभिन्न अंग भएको उल्लेख गर्दै सहभागीहरूले विविधतालाई विभाजनको कारण नभई साझा शक्ति र समृद्धिको आधारका रूपमा स्थापित गर्नुपर्ने बताए। विभाजनकारी भाष्य तथा साम्प्रदायिक तनावविरुद्ध सचेत रहँदै सबै समुदायबीच सहकार्य, समान नागरिक अधिकार, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्व कायम गर्नुपर्नेमा जोड दिइएको थियो।

छलफलका क्रममा नागरिकता अधिकार तथा विभिन्न कानुनी हैसियत भएका नेपाली नागरिकबीच समान व्यवहारको विषय पनि उठाइएको थियो। MAA अध्यक्ष श्री मनोज सिंहले विशेषगरी गैरआवासीय नेपाली (NRN) नागरिकता तथा अंगीकृत नेपाली नागरिकका अधिकारसम्बन्धी विषयलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने माग राख्नुभयो। उहाँले विशेषगरी मधेशी समुदायका धेरै नागरिकसँग सम्बन्धित यी विषयमा स्पष्ट, समावेशी तथा भेदभावरहित नीति आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष सिंहले नागरिकता तथा अधिकारसम्बन्धी विषयको समाधान केवल संवैधानिक समानता र समावेशी राष्ट्रिय नीतिको पुष्टि गर्ने विषय मात्र नभई विश्वभरका मधेशी प्रवासी समुदायमा विश्वासको वातावरण निर्माण गर्दै नेपालमा लगानी, ज्ञान हस्तान्तरण, उद्यमशीलता, परोपकार तथा दीर्घकालीन विकास साझेदारी बढाउने आधारसमेत भएको उल्लेख गर्नुभयो।

आफ्नो समापन मन्तव्यमा मधेशी आयोगका कार्यवाहक अध्यक्ष श्री जीवछ साहले मधेशी समुदायको संवैधानिक अधिकार, समानता, समावेशिता तथा सशक्तीकरणका लागि आयोगले गरिरहेका विभिन्न पहलका बारेमा जानकारी दिनुभयो। उहाँले आयोगले मधेशी समुदायसँग सम्बन्धित विभिन्न विषयमा सर्वेक्षण तथा अध्ययनहरू सञ्चालन गर्दै आएको तथा समुदायको सामाजिक, सांस्कृतिक, भाषिक र क्षेत्रीय विविधताको पहिचान तथा दस्तावेजीकरणमा समेत काम गरिरहेको बताउनुभयो। यस्ता अध्ययन तथा पहलले मधेशी समुदायको विविधता र पहिचानलाई राष्ट्रिय स्तरमा थप पहिचान र प्रतिनिधित्व दिलाउन सहयोग गर्ने उहाँको भनाइ थियो।

साथै, छलफलका क्रममा उठेका नागरिकता, प्रवासी मधेशी समुदाय तथा अन्य सामुदायिक सरोकारका विषयहरू सम्बन्धित सरकारी निकाय तथा कानूननिर्मातासमक्ष उठाउने प्रतिबद्धता श्री साहले व्यक्त गर्नुभयो। उहाँले MAA तथा विश्वभरका मधेशी प्रवासी समुदायसँग निरन्तर संवाद र सहकार्यलाई अघि बढाउँदै समुदायका वास्तविक सरोकारहरूलाई नीतिगत तहमा पुर्‍याउन आफू सकारात्मक रहेको बताउनुभयो।

ध्यान, सचेतना तथा सामुदायिक कल्याण:

AGM को दोस्रो दिन, अगस्ट ३० गते आइतबार साँझ अन्तिम सत्रका रूपमा, “ध्यान तथा माइन्डफुलनेस” सम्बन्धी विशेष सत्र आयोजना गरिएको थियो। सत्रमा मानसिक स्वास्थ्य, भावनात्मक सन्तुलन, व्यक्तिगत विकास तथा सामुदायिक जीवनमा सकारात्मक सोच र सचेतनाको महत्वबारे चर्चा गरिएको थियो।

सत्रमा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर श्री बी.के. रमन भट्टराई तथा ब्रह्माकुमारी संगीता गुप्ताले प्रस्तुति दिनुभएको थियो। सत्रको सञ्चालन MAA प्रवक्ता श्री प्रमोद गुप्ताले गर्नुभएको थियो।

सत्रले व्यक्तिगत कल्याण, सकारात्मक सोच, माइन्डफुलनेस तथा भावनात्मक सुदृढतालाई स्वस्थ, सकारात्मक र एकताबद्ध समुदाय निर्माणको महत्वपूर्ण आधारका रूपमा जोड दिएको थियो।

सशक्त समुदाय र भावी पुस्ताको नेतृत्व विकास:

AGM भरि मधेशी पहिचान, संस्कृति, सम्पदा, भाषा, परम्परा तथा मूल्य–मान्यताको संरक्षणसँगै समुदायमा एकता र सशक्तीकरणको आवश्यकतामा जोड दिइएको थियो।

MAA अध्यक्ष श्री मनोज सिंहले अमेरिकासहित विश्वभरको मधेशी समुदायलाई अझ संगठित, जोडिएको र सशक्त बनाउन MAA निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विशेषगरी समुदाय सशक्तीकरण, सांस्कृतिक संरक्षण, युवा सहभागिता, नेतृत्व विकास तथा पुस्तान्तरणलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

AGM ले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोड्दै नेतृत्व, ज्ञान, नागरिक सहभागिता तथा सामाजिक उत्तरदायित्वमा सक्रिय बनाउनुपर्ने MAA को दृष्टिकोणलाई थप बल दिएको थियो।

नेपाल बाढीपीडित राहतका लागि एकताबद्ध आह्वान:
नेपालमा हालै आएको विनाशकारी बाढी AGM को दुईदिने कार्यक्रमभरि महत्वपूर्ण चिन्ताको विषय बनेको थियो। AGM ले प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोगका लागि विश्वभरका मधेशी तथा नेपाली प्रवासी समुदायलाई आह्वान गरेको थियो।

MAA नेतृत्वले आफ्ना च्याप्टर, सदस्य, प्रवासी संस्था तथा शुभेच्छुकहरूलाई राहत अभियानमा सहभागी हुन आग्रह गर्दै आपत्कालीन राहत, पुनःप्राप्ति तथा दीर्घकालीन पुनर्निर्माणका लागि सहयोग गर्न अपिल गरेको थियो।

नेपालमा संकटका बेला प्रवासी समुदायको सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै MAA ले तत्कालीन मानवीय सहयोगसँगै दीर्घकालीन पुनर्निर्माण तथा विकासमा समेत योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

आगामी दिनका लागि स्पष्ट दृष्टिकोण:
दुईदिने AGM को सफल समापनसँगै मधेशी एसोसिएसन इन अमेरिका (MAA) ले समुदायबीच संवाद, पैरवी, नेटवर्किङ, सांस्कृतिक संरक्षण, नेतृत्व विकास तथा सशक्तीकरणको महत्वपूर्ण मञ्चका रूपमा आफ्नो भूमिकालाई थप सुदृढ गरेको जनाएको छ।

AGM मा भएका छलफल, सुझाव तथा सिफारिसहरूले आगामी कार्यक्रम, अभियान तथा संस्थागत रणनीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। सामूहिक छलफललाई ठोस कार्यक्रम, प्रभावकारी पहल र परिणाममुखी कार्यमा रूपान्तरण गर्ने प्रतिबद्धता MAA ले व्यक्त गरेको छ।

समापन मन्तव्यमा MAA अध्यक्ष श्री मनोज सिंहले प्रमुख अतिथि, मुख्य वक्ता, सांसद, सरकारी प्रतिनिधि, समुदायका अगुवा, अन्तर्राष्ट्रिय प्रवासी प्रतिनिधि, युवा सहभागी, कार्यसमिति सदस्य, च्याप्टर प्रतिनिधि, स्वयंसेवक तथा विश्वभरबाट कार्यक्रममा सहभागी भएका सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले मधेशी समुदायको अधिकार, पहिचान, एकता, सशक्तीकरण तथा समग्र उन्नतिका लागि सबैको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।

सन् २०१७ मा स्थापना भएको मधेशी एसोसिएसन इन अमेरिका (MAA) अमेरिकामा मधेशी समुदायको पहिचान, संस्कृति, एकता, सशक्तीकरण तथा समग्र उन्नतिका लागि कार्यरत एक गैरनाफामूलक तथा गैरराजनीतिक संस्था हो।